एकदमै छोटा दिन, चीसा रात , त्यसमाथि लगातारको झरी । सिड्नीको हालको मौसम
यस्तै छ, लगभग १० दिन भो घामले मेरो मुख हेर्न नपा'को । मौसम यस्तोसंग
बर्षिएको छ की सुर्यपनि उदाउंछ र ! भन्नेमा शंका हुनथालेको छ । सबैलाई झैँ
मलाईपनि यो बर्ष अलि बढी चिसो हो कि भन्ने लाग्दैछ । चौबिसै घण्टा
बत्ति जादैन, मन लाग्दा हिटर बाल्दा भएकै छ, जाँगर चल्दा तातो-मीठो खाने
कुराको समस्या छैन, ट्रेन/कारमा, काम गर्ने ठाउँमा ए सी चलेकै हुन्छ तैपनि झरिमाथिको गनगन छुटेको छैन ।
यो गनगनको बिचपनि मलाई झरीका ती दिनहरु रमाईला लाग्छन्, जुनबेला छाता नओढी
साइकलमा स्कूल-घर कुदियो । कुद्नु भन्दा बढी त भिज्नु नै थियो । भिज्दै
गर्दापनि ओत लाग्ने हतार कहिल्यै भएन, बरु कसैका पाकेका आँपका बोट देख्दा ढुंगा हान्दै झारेरै खाइयो । आहा ! झरीमा ती ताजा, स्वादिला आँप चुस्दाको मज्जा !
आफू भिज्दापनि किताब-कापी, भित्र प्लास्टिकको थैला, बाहिर स्कूलको झोला गरेर
साइकलको पछाडी सुरक्षित नै राखियो । कहिले काही भोलिपल्ट बुझाउनुपर्ने
गृहकार्यको कुनै छेउ बाढीको चपेटामा पर्यो बेग्लै कुरा ।
बर्षाको समय, भिज्दै घर आउनु ठुलो कुरै भएन । त्यसैले आमाको गालि खानुपर्नेपनी थिएन बरु आमाले तुरुन्तै भेटे एउटा प्रश्नको उत्तरचाहिँ तयार राख्नु पर्थ्यो । त्यो प्रश्न थियो - 'कुलो कत्रो छ?' लाग्छ
सामान्य प्रश्न तर त्यो प्रश्नसंग हाम्रो कठिन जीवन शैली गाँसिएको थियो ।
हाम्रो लागि त्यो कुलो, कहिलेकाही खोलो बनेरै उर्लन्थ्यो । कैयौं केटाकेटीका बा-आमा पुर्याउन नगए स्कूल छुट्टी नै हुन्थ्यो भने म जस्ताको साईकल चढ्न बन्द । साँघुरो ठाउँ खोजेर ६ किलोको झोलसङ्गै फट्ट नाघ्नु पर्थ्यो, खुट्टा चिप्लिए सुलुलु त्यसैमा ।
त्यो कुलो, बर्षाको बेलामा मलाई लाग्थ्यो - यसले हात्ती बगाउन सक्छ, हिउदमा
चाही कमिलाकै लात खान्थ्यो - कहिल्यै नबग्ने । एक किसिमले वर्षे दादा थियो
। त्यसको माथि हेम पाइपपनि थिएनन् , त्यसैले छाती फुलाएर गाउँको विचबाट बग्थ्यो । गाउँको पुछारमा मात्तिएर घरभित्र छिर्न खोज्ने, नपाए खेत-बारीमा बालुवा भर्दिने त्यसको पुरानै चलन ।
त्यहि बेइमानी कुलो खेततिर हुल्न पाए सबैजना दङ्ग । जस्तो सुकै झरी परोस गाउँमा सबै हाँस्दै, रमाउदै खेततिर
दौडिन्छन । कोही स्याङ्गु / छ्त्री ओढेर, कोहि रुझ्दै । कोहि धानको बिउ
उखेल्दै, कोहि हलो जोत्दै, कोहि छेउ-कुना खन्दै त कोहि आली मिलाउदै अनि
रोपारहरू छुपुछुपु रोप्दैपनि - सबै ब्यस्त । कसलाई पो फुर्सद हुन्छ र यता
उता हेर्ने, फुर्सद हुनेले ढिस्कोमा उभिएर यसो हेर्यो भने महोत्सब नै लाग्छ
।
झम झम परिरहेको पानि, विभिन्न भाव-भंगीमा ब्यस्त मानिसहरु, हरिया मकै बारीहरु, झरीको सुरमा बजिरहेका मकैका पातहरु,
धुँवा पुत्ताइरहेका घरका धुरीहरू, अनि मानो रोपेर मुरी फलाउने किसानका ती
सुमधुर कल्पनाहरु । आहा ! त्यो गाउँ, मौसम अनि मानिसहरु, कसैलाई केहि
गुनासो छैन ।
No comments:
Post a Comment